गायक शिव परियारको दशौं एकल एल्वम ‘शिवबुक’ मा रहेको ‘पिउँदिन भन्दा भन्दै’ बोलको नेपाली गजल हिन्दी र भोजपुरीमा हुबहु कपी भएको छ ।
यो गजल निहारिका लक्ष्मी शाहीले लेखेकी हुन् भने संगीत तारा प्रकाश लिम्बूले गरेका हुन । तर यहि गीतको मेलोडी हिन्दी र भोजपुरीमा हुबहु कपी गरिएको छ । यो सर्जकको नैतिक अधिकारको हनन् हो ।
यो गजल जिनियस म्यूजिकबाट १० अगस्ट २०१५ मा युट्यूवमा अपलोड गरिएको हो । यहि मेलोडीमा भोजपुरी भाषामा ‘बिलिमे किली डालके’ बोलको गीत यूवा म्यूजिकले सार्वजनिक गरेको छ । यो कभर सङ नभै एल्वमकै गीतको रुपमा युट्यूवमा सार्वजनिक गरिएको छ । जसमा राज यादवको स्वर, यादव राजको शब्द र मोनु सिन्हाको संगीत भनिएको छ । यसलाई २५ फेबु्रअरी २०१७ मा अपलोड गरिएको छ ।
त्यसैगरी यहि मेलोडीमा ‘प्यारका रोग’ बोलमा खुश्बु उत्तमले हिन्दी भाषामा यो गजल गाएकी छिन् । प्रबिन सोनीको संगीत र कुमुद रसिला मुजम्फरपुरको शब्द रचना भनेर राखिएको यो गीत सोनोटेकबाट १४ जुलाई २०१७ मा अपलोड गरिएको छ । यो गीतको मेलोडी र गीत पहिले नेपालमा सिर्जना गरिएको हो । तर यी दुबै गीतमा कहि कतै मूल सर्जकको नैतिक अधिकारको सम्मान गरिएको छैन ।
र अहिले आएका यी दुई गीत कपी गरिएका हुन् भन्ने बलियो आधार छ । यो गजल हुबुह कपी भएपछि सर्जकहरु यतिबेला अधिकारको रक्षाका लागि कानुनी बाटो खोजी रहेका छन् । नयाँ सिर्जनाका रुपमा राखिएको यी दुबै गीतका बारेमा यु ट्यूव मा प्रतिलिपी अधिकार हननका बारेमा उजुरी गरेपनि सुनुवाई नभएको गायक शिव परियारले जानकारी दिएका छन् ।
यस अघि सिनेमा ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको गीत आसामी भाषामा कपी गरिएको थियो । पछि यो गीत चोरी भएको खबर सार्बजनिक भए पछि आसामी गायक, संगीतकारहरुले अन्जानमा प्रतिलिपि अधिकार हनन भएको भन्दै मूल सर्जकको नाम उल्लेख गरेर नैतिक अधिकारको सम्मान गरेका थिए । नेपालको कानुनले कसैले प्रतिलिपि अधिकारको हनन गरेमा क्षतिपूर्ति सहित जेल सजायको समेत ब्यबस्था गरेको छ ।
यो बिषयमा हिन्दी गीतको कम्पनी सोनेटेकको च्यानलमा राखिएको लिला कृष्णको भारतीय नम्बरमा सम्पर्क गर्दा भने फोन उठेन । त्यसैगरी भोजपुरीको युवा म्यूजिकको फेस बुक पेजमा राखिएको नम्बरमा पनि सम्पर्क गर्दा फोन उठेन ।
कार्यक्रमको सिलसिलामा नेपाल बाहिर रहेका ‘शिबबुक’ एल्वमका निर्माता समेत रहेका गायक शिव परियारले फेसबुक सम्पर्क मार्फत गीत चोरी भएको बिषयमा पटक–पटक यु ट्यूवलाई कन्टेन्ट सहित क्लेम रिपोर्ट गरेको, तर कुनै रेस्पोन्स नगरेको जानकारी दिए ।
उनले अरु गीतको बारेमा गरिएको क्लेम रिपोर्ट तुरुन्त रेस्पोन्स गर्ने तर यो गीतको रेस्पोन्स नै नगर्ने गरेको भन्दै उचित न्यायको लागि सम्बन्धित निकायमा जान चाहेको बताएका छन । उनको प्रश्न छ, यसका लागि कहाँ जाने ?
No comments:
Post a Comment